समाबेशी सञ्चारको परिकल्पना
समतापोष्ट डटकम
०४६ सालको जनान्दोलनपछि मुलुकमा प्रजातन्त्रको स्थापनासंगै सञ्चार माध्यमको तिब्र विकास भएको हो । २६ बर्षे (०४६–०७२) प्रजातान्त्रिक ईतिहासमा हिंशात्मक,संक्रमणकालिन राजनीतिक उतार चढावसंगै धेरै संञ्चार माध्यमले जन्म लिए । बर्खे भेलझै जन्मेकाहरु कती हराएर गए कति अझै बामे सरी रहेकै छन् । कति जन्म लिने अबस्थामा पनि होलान । केही सञ्चारमाध्यमहरु दुरदराजमा बस्नेहरुको सुख, दु:खको चौतारी बने, केही पार्टी प्रचारक अनि नेताको बैशाखी पनि । प्रेस स्वतन्त्रताको ढोङ पिट्दै एक चौथाई बाहेकका पत्रकारले पार्टीकारिता र पत्रकारितालाई पनि संगसंगै डो¥याए । स्वतन्त्र र निश्पक्ष भनिएका सञ्चार माध्यममा आबद्धहरु पनि राजनीतिक दलका भातृ संगठनकै हैसियतमा पत्रकार संघ,संगठनमा आबद्ध छन् ।
मूलधारका स्थापित होस वा देशैभर रहेका सञ्चार माध्यमले मुलुकभर छरिएर रहेका दलित, महिला, यौनिक अल्पसंख्यक, आदिबासी जनजाती, मुस्लिम, मधेशी र उपेक्षित समुदायको पिरमर्का कहिल्यै बुझ्न सकेनन् । बुझ्न चाहेनन् पनि । राज्यसत्ताबाट विभेदमा परेकाहरुको मुद्धा एकाध बाहेक कहिल्यै खबर बन्न सकेनन् । प्रजातन्त्रको नाममा प्रेस स्वतन्त्रताको मन्त्र जप्दै पत्रकारितासंगै पार्टीकारिता पनि मौलाउदै गयो । भुँईतहको खबर होईन नेताको बोलीले शिर्ष स्थान पाउन थाले र अहिले पनि तिनै बोलीले सञ्चार माध्यममा गतिलै स्थान पाई रहेका छन् । स्वतन्त्र प्रेसको आवरणभित्र नेताको संरक्षणले गर्दा पार्टीकारिताले मलजल पाएकै छ ।
तत्कालिन ने.क.पा.माओबादीको १० बर्षे जनयुद्ध पश्चात भएका परिवर्तनहरु स्थापित गर्न सञ्चार माध्यमले सशक्त पहल चाल्नु पर्नेमा प्रतिगमनलाई स्थापित गर्न भ्रामक समाचार सम्प्रेषणका कारण मुलक लामो समयदेखि संक्रमणकालिन अबस्थाबाट थला परिरहेको घाम जस्तै छर्लङ छ । जनयुद्धको जगमा भएको ०६२/०६३ को १९ दिने जनान्दोलन र जात व्यवस्थाको जाँतोमा पिसिएकाहरुले विभिन्न समयमा गरेका आन्न्दोलन पश्चात मुलुकमा गणतन्त्र स्थापना भएको यतिका बर्ष भइसक्दा पनि मुलुकले यो नियति बेहोर्नुको दोषी नेपाली सञ्चार माध्यम पनि हुन् ।
बहुसंख्यक सञ्चार माध्यमले माओबादी बिरोधी खबर युद्धनै थाले । जसका कारण जनयुद्धले गरेको भुँइमान्छेहरुसंग गासिएका परिवर्तनका मुद्धा हुर्कन नपाउदै मृत्यु बरण गर्न पुगे । मूलधारका सञ्चार माध्यममा महाकालीदेखी मेचीसम्म छरिएर रहेका सिमान्तकृत समुदायका खबर र बिचार यथोचित मात्रामा समेटिएका छैनन् । बरु बेलाबखत भ्रामक खबर र बिचार सम्प्रेषण गर्दै ती समुदायका सवालप्रति नकारात्मक धारणा बनाउने काम गरिएको छ ।
त्यसैले यो परिवर्तित अबस्थामा जल्दाबल्दा घटना र संश्लेषणको सम्प्रेषण गर्दै भुँइतहको खबर र बिचार नछुटाउने सञ्चार माध्यमको आबश्यकता महसुस गरी समाबेशी मिडियाको रुपमा स्थापित गर्न समता मिडिया विकास कोषको स्थापना गरिएको हो । “जात व्यवस्था बिरुद्ध सञ्चार अभियान” भन्ने उदेश्यले यस कोष मार्फत नेपाली पत्रकारितामै पहिलो अभ्यासको रुपमा विचारप्रधान डिजिटल पत्रिकाको थालनी गरिएको हो । हामी भुँइतहको कथा लेख्छौं,सुनाउँछौं र देखाउँछौं, आलोचना, टिप्पणी, सुझाव र दृष्टिकोणहरु राख्दै प्रत्येक पल हजारौं मान्छेहरुसंग जोडिदै जानेछौं । हजारौंका सकारात्मक विचारहरु छिनछिनमासमतापोष्टको भित्तोमा पोखिन्छन् र त्यतिनै छिटो हजारौंलाई सुसुचित गर्नेछ ।
त्यसैले “सामाजिक न्याय र समानता” स्थापित गर्ने परिकल्पनाले जात व्यवस्थाको जाँतोमा पिसिएकाहरुको पक्षधरको रुपमा आशा र भरोसा जगाउन www.samatapost.com नामक विचारप्रधान वेबपोर्टल सुरु गरेका छौं ।
यो सामाजिक संजाल फेसबुक पेज https://www.facebook.com/samatapostmag संगै युट्युव https://www.youtube.com/@samatapostofficial र ट्वीटर https://x.com/samatapost मा पनि हेर्न सक्नुहुनेछ । हामीलाई विश्वास छ यसले राष्ट्रिय एकतालाई मजबुत बनाउनेछ र जात व्यवस्थाको जाँतोमा पिसिएकाहरुलाई यो देश मेरो पनि हो भन्ने भावनाको आत्मबोध भई समाबेशीसहितको देश विकासमा लाग्न प्रेरित गर्नेछ ।