
कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रकी प्रतिनिधिसभा सदस्य उम्मेदवार बिना मगरका श्रीमान तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको असामयिक निधनले कञ्चनपुर शोकमा डुबेको छ ।
शोकमा डुबेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्र अर्थात् स्व.प्रकाश दाहालको ससुराली गाउँ पुनर्वासमा आज बिहान श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ । पु्नर्वासको सहिद गेटमा संयुक्त वाम गठबन्धनले आयोजना गरेको श्रद्धाञ्जलि सभामा बोल्ने अधिकांश वक्ताले प्रकाश दाहालको कञ्चनपुरसँग विशेष सम्बन्ध रहेकाले कञ्चनपुर बढी शोकमा डुबेको बताए । ‘क.प्रकाशको निधनको खबरले हामी शोकमा थियौं, चुनावी कार्यक्रम समेत स्थगित भएका थिए,’ नेकपा एमालेका नेता तथा कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रको प्रदेशसभा १ का निर्वाचन परिचालन समिति सदस्य वीरबल विश्वकर्माले भने, ‘क.प्रचण्डको निर्देशनपछि चुनावी कार्यक्रम अगाडि बढाएका छौं ।’
कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रकी उम्मेदवार बिना मगरका श्रीमान प्रकाशको निधनले सम्पूर्ण निर्वाचन क्षेत्र नै शोकमा डुबेको निर्वाचन परिचालन समितिका संयोजक तथा माओवादी केन्द्र कञ्चनपुरका जिल्ला संयोजक वीरबहादुर थापा ‘पातल’ले बताए । ‘यो क्षेत्र प्रकाश दाहालसँग प्रत्यक्ष जोडिएको छ,’ थापाले भने, ‘प्रकाशको निधनले हामी अत्यन्त दुःखी छौं ।’
स्व.प्रकाश दाहाल कञ्चनपुरका नेतासँग निरन्तर सम्पर्कमा रहने तथा विकास र राजनीतिक गतिविधिमा चासो राख्ने नेता रहेको संयोजक थापाले बताए । ‘प्रकाशको लक्ष्य वाम गठबन्धन प्रकाश दाहालको लक्ष्यलाई पूरा गर्न हामी सबै वाम कार्यकर्ता खटिनुपर्छ । उहाँको लक्ष्य पूरा गराएर उहाँप्रति सच्चा श्रद्धाञ्जलि अर्पण गर्नुपर्छ ।’ वाम गठबन्धनका उम्मेदवारलाई जिताएर नेपाललाई समृद्ध बनाउने अभियानलाई सफल पार्नका लागि शोकलाई शक्तिमा बदल्दै अगाडि बढ्न थापाले सबैलाई निर्देशन दिए ।
एभरेष्टदैनिकबाट
Leave a Reply