
केआईसिंह गाउँपालिका वडा नं.७ बलायरगाउँमा श्री लाटाकलारै आधारभुत बिद्यालय छ । कक्षा ४ सम्म संचालन रहेको यो बिद्यालयमा अधिकांस दलित बालबालिकाहरु पठनपाठन गर्छन् । बलायर गाउँमा दलितहरुको बाक्लो बस्ति रहेको छ । बलायर गाउँदेखी सलेनाको बिद्यालय जान साना बालबालिकाहरुले खोला तर्नुपर्ने बाध्यताले अधिकांस दलित बालबालिकाहरु स्कुल जानबाट बंचित थिए ।
बालबालिकाहरुलाई गाउँमै पढ्न सजिलो होस भनेर स्थानीय समाजसेबी र दलित समुदायको पहलमा २०७० साल बैशाख २ गते श्री लाटाकलारै आधारभूत बिद्यालयको स्थापना भएको हो । तीन कोठे अस्थायी टहरा र २ जना शिक्षकबाट सुरु गरिएको सो बिद्यालयमा अहिले ३ जना शिक्षक र ७ जना शिक्षिका अध्यापन गराउदै आएका छन् । भने १ जना कार्यालय सहयोगी रहेका छन् । कार्यालय सहयोगीलाई जिल्ला शिक्षा कार्यालयले तलब उपलब्ध गराउदै आएको छ बाँकी १० जना शिक्षक निजि स्रोतको भरमा आश्रित छन् ।
तीन कोठे अस्थायी टहराबाट सुरु गरिएको सो बिद्यालयको अहिले ११ कोठे पक्की भवन छ । गाउँलेहरुले दुई किलोमिटर टाढाबाट पालैपालो ढुंगा बोकेर श्रमदान गरेका थिए । गाउँलेहरुको श्रमदानबाट भवन निर्माण गरिएको हो । बिद्यालय स्थापना गर्दा डेढ लाखमा तीन कोठे भवन निर्माणको ठेक्का लिएका जोरायल गाउँपालिका -१ घण्टेश्वरका रतन पातलीले ठेक्का रकम अनुसार ७५ हजार रुपैयाँ मात्र लिएर ७५ हजार रुपैयाँ चन्दा स्वरुप सहयोग गरेका थिए । भद्रकाली खोटो कम्पनीका डोटी प्रमुख एमनाथ अधिकारीले ५० हजार ५ सय ५५ रुपैयाँ चन्दा सहयोग गरेका छन् । बलायर गाउँका १ सय ३ घरधुरीबाट २ हजार देखी २५ हजार रुपैयाँसम्म्म आर्थिक सहयोग संकलन गरिएको छ । पशुपती सामुदायिक बन उपभोक्ता समितिले दुई कोठे र बल्लेगडा सामुदायिक बन उपभोक्ता समितिले दुई कोठे भवन निर्माण गरि दिएका छन् ।
एक्शनएड नेपालसंगको साझेदारीमा सम विकास केन्द्र नेपालद्धारा संचालित स्थानीय अधिकार कार्यक्रमले चार कोठा प्लाष्टरका लागि ९० हजार रुपैयाँ,बृहत खेल मैदान निर्माणका लागि डेढ लाख रुपैयाँ सहयोग र १५ वटा राउण्ड टेवल र एउटा कम्प्युटर उपलब्ध गराएको छ । त्यसैगरी एक्शनएड नेपालसंगको साझेदारीमा सम विकास केन्द्र नेपालद्धारा संचालित गुणस्तरीय शिक्षा परियोजनाले कार्पेट,कुसन,पिफम,बुक कर्नर,खेलकुद र शैक्षिक सामाग्रीहरु उपलब्ध गराएको छ । नेपाल रेडक्रस डोटी शाखाले सरसफाई कार्यक्रम संचालन,रेलिङ निर्माण,खानेपानी टंकिको ईन्टेक निर्माणका लागि ५५ हजार र सौचालय निर्माणका लागि ४० हजार रुपैयाँ सहयोग र ५ वटा फिल्टर उपलब्ध गराएको छ । जिल्ला शिक्षा कार्यालय डोटीले ४ लाख रुपैयाँ खर्चेर सौचालय निर्माण गरि दिएको छ । अहिले शिक्षा कार्यालयकै सहयोगमा १६ लाख बराबरको दुई कोठे भवन निर्माणाधिन अबस्थामा छ ।
सो बिद्यालय सुधारका लागि अहिले सम विकास केन्द्र नेपालद्धारा संचालित स्थानीय अधिकार कार्यक्रम र गुणस्तरीय शिक्षा परियोजनाले सहयोग गर्दै आएका छन् । स्थानीय अधिकार कार्यक्रम अन्र्तगत बालप्रायोजन र गुणस्तरीय शिक्षा परियोजना अन्र्तगत बाल केन्द्रीत शिक्षण बिधी अनुसार पठन पाठनमा सहयोग पु¥याएको छ ।
सम विकास केन्द्र नेपालको सहयोगमा बालकेन्द्रीत सिकाईका आधारमा पठन पाठन हुने गरेको छ । कक्षा कोठामा बालबालिकाहरुलाई खेल,मनोरञ्जन,कथा र बिभिन्न अभ्यास गराएर पठन पाठन गरिदै आएको छ । बालकेन्द्रीत सिकाईका आधारमा पठनपाठन गराउँदा बालबालिकाहरु नियमित बिद्यालय आउने गरेको र उनिहरुको सिकाईमा समेत बृद्धि भएको शिक्षक तुलसी सिंह (चन्द) बताउँछिन् ।
बालकेन्द्रीत शिक्षण बिधि अनुसार पठनपाठन गराउँदा बालबालिकाहरुलाई कक्षाकोठामा ब्यस्त गराउन र टिकाउन सजिलो भएको छ । बालबालिकाले नबुझेर जिज्ञासा राखेको कुरा चित्र र अभ्यास गराउदा छिट्टै बुझने र निकै चासो दिएर कक्षामा बस्ने गरेका छन् । शिक्षण सिकाई अभ्यासले शिक्षक तुलसी चन्दको ब्यक्तिगत अनुभव र सिकाईमा समेत निकै परिवर्तन आएको छ ।
बालबालिकाहरुलाई अतिरिक्त कक्षा संचालन,कक्षाकोठा सुधार तथा बालबालिकाको बसाई लाई सुधार गरेको देख्दा अभिभावकहरु आफ्ना बालबालिकालाई निजि बिद्यालयबाट छुटाएर हाम्रो बिद्यालयमा भर्ना गरि नियमित बिद्यालय पठाउने गरेको प्र.अ.तारा नेपाली बताउँछन् । उनि भन्छन्, बिद्यालयमा बाल क्लब गठन गरी अतिरिक्त कृयाकलापहरु संचालन र समुदायका अगुवाहरुको सहभागीतामा शिक्षा सरोकार समुह गठन गरि बिभिन्न कार्यक्रमहरु संचालन गरिएपछि अभिभावकहरु पनि बिद्यालय सुधारप्रति चासो दिन थालेका छन् ।
सम विकास केन्द्र नेपालद्धारा संचालित स्थानीय अधिकार कार्यक्रमले सहयोग गर्दै आएको र पुनः गुणस्तरिय शिक्षा परियोजनाले शिक्षकको क्षमता अभिवृद्धि तथा अभिभावकहरुलाई सचेतना विकास गर्ने काम गरेको बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष दिल बहादुर बलाएर बताउँछन् । बिद्यालयमा शैक्षिक सामाग्री, कक्षाकोठा सुधार सामाग्री तथा खेल सामाग्रीहरु सहयोग गर्नुका साथै वडा कार्यालय,जिल्लास्थित अन्य गैरसरकारी संस्था र जिल्ला शिक्षा कार्यालय डोटीका शिक्षा अधिकारी अनन्त कुमार पौड्यालसंग सम्पर्क समन्वय गराई महत्वपूर्ण सहयोग गरेको अध्यक्ष बलाएरको भनाई छ ।
अहिले बिद्यालयमा बालमैत्री कक्षाकोठा,खानेपानीको धारा,शौचालयको व्यबस्था गरिएको छ । बालबालिकाहरुलाई खेल खेल्नका लागी खेल मैदान बिस्तार र एक जना शिक्षकको दरबन्दीको ब्यवस्था गर्न जिल्ला शिक्षा कार्यालयमा पहल गरिएको बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष दिल बहादुर बलायर बताउँछन् ।
सरकारले सरकारी बिद्यालयहरुमा बालकेन्द्रीत शिक्षण बिधि अनुसार पठनपाठन गराउँनु पर्ने निति लागु गरेता पनि बिद्यालयका शिक्षकहरुलाई यस पद्धतिको बारेमा तालिम उपलब्ध नगराएको र बालकेन्द्रीत सिकाइ प्रक्रियाका लागि शिक्षा कार्यालयले बिद्यालयलाई शैक्षिक सामाग्रीको ब्यवस्था नगरेकोले बालकेन्द्रीत शिक्षण सिकाई अभ्यास गर्न कठिन थियो । हाल बिद्यालयका ३ जना शिक्षकलाई गुणस्तरिय शिक्षा परियाजनाले १० दिने बालकेन्द्रीत सिकाई तालिम उपलब्ध गराएको छ । तालिम पश्चात शिक्षकहरुको पढाउने शैलिमा परिवर्तन भएको छ । यस अघि शिक्षकहरुले परम्परागत प्रवचन बिधिबाट पढाउने,गृहकार्य नगरेकालाई पिट्ने, कान निमोठ्ने, हकार्ने गर्नाले बालबालिकाहरु शिक्षकको कुटाई खाने डरले कक्षाकोठामा नबसेर भाग्ने गर्दथे ।
बालकेन्द्रीत शिक्षण बिधि अनुसार कक्षा कोठामा बालबालिकाहरुलाई कथा,कविता, खेल र छलफल अभ्यासका माध्यबाट सिकाउने गरिएको छ । जसले गर्दा बालबालिका बिद्यालय आउन खुशी हुने र शिक्षकहरुसँग बालबालिकाहरु सहजै बोल्ने गरेका छन् । सम विकास केन्द्रले बालकेन्द्रीत सिकाई सामाग्रीहरु समेत उपलब्ध गराएको छ । बालबालिकाहरुलाई पाठ्यक्रम अनुसारको सामाग्री बनाइ पढाउदै आएको शिक्षक शान्ती सिंहले बताईन् । बालबालिकाहरुलाई सिकाउनका लागि चित्र,कथा र गितका माध्यमबाट पढाउने गरिएकाले बालबालिकाहरु पढाइप्रति चासो दिने गरेको अभिभावक शान्त बलायरले बताए ।
बाल केन्द्रीत शिक्षण सिकाई बिधि अनुसार पठन पाठन गराउदै जाने हो भने बालबालिकाहरुलाई अहिलेको समय अनुसारको शिक्षा प्रदान गर्न सकिने प्र.अ.तारा नेपाली दाबी गर्छन् । प्र.अ.नेपालीका अनुसार यस श्री लाटाकलारै आधारभुत बिद्यालयमा सम विकास केन्द्रको प्रगतिशिल स्थानिय श्रोत परिचालनद्धारा गुणस्तरिय शिक्षा परियोजनाले म लगायत यस बिद्यालयका अन्य शिक्षकलाई बालकेन्द्रीत सिकाई तालिममा सहभागि गराएपछि बिद्यालयमा सुधार आएको हो ।
तालिममा बालकेन्द्रीत सिकाईको बारेमा ज्ञान र सिप पाएपछि बिद्यालयमा बालबालिकाहरुको भावना अनुसारको शिक्षण सिकाई बिधि प्रयोग गर्न पाउँदा आफुहरु निकै खुशी भएको र अभिभावक पनि खुशी भएको प्र.अ.नेपालीको भनाई छ । शिक्षक र अभिभावकहरुको मेहनतका कारण गत बर्षको तुलनामा यस बर्ष बिद्यालय भर्ना हुने बालबालिकाहरुको संख्यामा बृद्धि भएको छ भने बालबालिकाको सिकाई उपलब्धि समेत बढ्दै गएको छ । अन्य बिद्यालयको तुलनामा सो बिद्यालय जिल्लामै नमुना बिद्यालयको रुपमा विकास गरिन लागेको प्र.अ.नेपाली बताउँछन् ।
प्रकाशित ९ माघ २०७४, मंगलबार
Leave a Reply