कैलालीमा धान रोपाइँ शुरु

समताखबर
  ४ असार २०७५, सोमबार ०८:४८

धान उत्पादनको लागि अग्रणी जिल्ला मध्येमा पर्ने कैलालीमा यसवर्षको धान रोपाइँ सुरु भएको छ । यहाँ छिटपुट मनसुन सक्रिय भएपछि किसानले रोपाइँ गर्न थालेका हुन । जेठ अन्तिम दिन मनसुनी वर्षा भएपछि यहाँका कतिपय किसानले असार १ गतेबाट रोपाइँ सुरु गरेका छन् ।

असार १ गते शुक्रवार परेकाले पनि सोही दिनदेखि रोपाइँ सुरु गरेको कैलारी गाउँपालिका–७ भुईयाँफाँटाका कृषक फूलराज चौधरीले बताए । उनका अनुसार किसानले शुक्रवारबाट रोपाइँ सुरु गर्नुलाई शुभ सायतको रुपमा लिने गरेका छन् । ‘अहिले हाम्रो गाउँमा धमाधम रोपाइँ भइरहेको छ’, उनले भने–‘कतिपय किसानले एक बिघा भन्दा पनि बढी रोपाइँ गरि सकेका छन् ।’

जिल्लाको डुवान हुने क्षेत्रका किसानले बाढीबाट धान जोगाउनका लागि असार १५ अगाडि नै रोपाइँ गर्ने गरेका छन् । अहिले कैलारी गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका, धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका सहित जिल्लाभरी नै छिटपुटमा रोपाइँ भइरहेको छ । रोपाइँको लागि पर्याप्त वर्षा नभए पनि किसानले भूमिगत बोरिङबाट सिचाइँ गरेर धान रोपिरहेका छन् ।

बोरिङबाट नै सिचाइँ गरेर अहिलेसम्म दुई बिघा जमिनमा रोपाइँ गरिसकेको कैलारी गाउँपालिका–५ पवेराकी राधा चौधरीले बताइन् । ‘गाउँवासीले रोपाइँ गर्न थालेपछि हामीले पनि वर्षा कुर्नु भएन’, उनले भनिन्–‘पछाडि परेमा बाटो बन्द हुने गरेकाले बोरिङबाट खेत सिचाइँ गर्दै अहिलेसम्म दुई बिघामा धान रोपी सकेका छौं ।’

वडा नम्बर ५ को पवेरा, गोबरैला, छोटी पलिया, बड्की पलियामा असार १५ अगाडि नै सबैभन्दा बढी रोपाइँ हुने गरेको कृषकहरु बताउँछन् । उनीहरुका अनुसार असार १५ लाग्दासम्म कतिपयको रोपाइँ सकिने गरेको छ ।

कैलाली धान उत्पादनका लागि अग्रणी जिल्लामध्येमै पर्दछ । धान उत्पादकत्व बृद्धिका लागि विभिन्न क्षेत्रमा धान पकेट क्षेत्र बनाएर खेतीपाती भइरहेको छ । जिल्लाभरी ७२ हजार हेक्टरभन्दा बढी जमिनमा धान खेती गरिन्छ । तर, भजनी नगरपालिकाको अधिकांश क्षेत्रमा डुवान हुने गरेकाले त्यहाँ बर्खे धानको सट्टा चैते धान खेती गर्ने गरिएको छ ।

मनसुनले साथ दिएमा यसवर्ष चाँडै रोपाइँ सम्पन्न हुने कृषक फूलराज चौधरीले बताउनुभयो । यसवर्ष नेपालमा जुन ८ तारेखमा मनसुन प्रवेश भएको थियो । यद्यपि, रोपाइँका लागि पर्याप्त हुने गरी वर्षा भने यहाँ अझैसम्म भएको छैन । पश्चिमटुडेबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *