परदेशीको पीडा बोल्ने दसैँका कालजयी गीत

समताखबर
  २७ आश्विन २०७५, शनिबार १३:१०

जब दसैँ सुरु हुन्छ, तब टेलिभिजन तथा रेडियोमा बज्न थाल्छ मालश्री धुन । अनि, बज्न थाल्छन् परदेशीका दुःख समेटिएका विभिन्न गीत । दसैँले खुसी मात्रै दिँदैन, परिवारबाट टाढिएकाहरूमा अपनत्वको भाव पनि जगाउँछ । त्यसैले त खुसी र उन्मादसँगै विरहका भाव समेटिएका गीत पनि सिर्जना हुन्छन् र धेरैको मनमा छाउँछन् ।

संगीतकार राजु सिंह दसैँमा बज्ने परम्परागत लोकधुन तथा आधुनिक बाजाहरूको बेग्ला–बेग्लै महत्व रहेको बताउँछन् । ‘बाल्यकालमा मालश्री गुन्जिएपछि बल्ल दसैँ आएजस्तो लाग्थ्यो,’ उनी थप्छन्, ‘तर, धेरै त्यस्ता आधुनिक तथा पपगीत पनि छन्, जसले दसैँको सम्झना दिलाउँछन् ।

यस्ता संगीतले चाडवाडको महत्व बुझाउँछन् ।’ गीतकार रत्नशमशेर थापाले लेखेको ‘बिछोडको पीडा नसकी खप्न दसैँको वेलामा, तिमीलाई भेट्न आउँदै छु फर्की रमाइलो गाउँमा‘’ गीत विगत ५ दशकदेखि चर्चित छ । नारायणगोपाल र दिलामाया खातीले स्वर भरेको यस गीतमा नारायणगोपालले नै संगीत दिएका थिए ।

कृष्णभक्त राईको स्वर रहेको ‘नमुछे टीका दहीमा आमा‘ ’ बोलको गीत अर्को कालजयी गीत हो । यस गीतमा नारायण रायमाझीले संगीत भरेका छन् । यी गीतमा आफ्ना भावना, परिवेश र संस्कृतिलाई धेरैले भेटे । गीतले दसैँको महत्व मात्रै झल्काएको छैन, दसैँमा बिछोडिएका परिवारको मर्म पनि बोकेको छ, परदेशीको भावना बोलेको छ ।

दसैँ र खुसी
लोकनाथ सापकोटाको रचना ‘दसैँ आयो‘’ गीतले दसैँको महत्व बोल्छ । यस गीतमा उदीतनारायण झा र दीपा झाले स्वर भरेका छन् । ‘हर्षका दिनमा लैलै, चाडवाडको दिनमा लैलै।।’ बोलको गीत दसैँमा धेरै बज्ने अर्को गीत हो । यस गीतलाई रवि श्रेष्ठले लेखेका हुन् । सुगम पोखरेलले गीतमा स्वर भरेका छन् ।

गायक प्रमोद खरेल र मेलिना राईको स्वर रहेको ‘दसैँ आयो खुसी लिएर‘’ बोलको गीतले दसैँको सौन्दर्यलाई प्रस्तुत गरेको छ । यसमा गोविन्द गौतमको शब्दमा विकास चौधरीले संगीत दिएका छन् । गीतको भिडियोमा केकी अधिकारी र पुष्प खड्काको अभिनय छ । टंक बुढाथोकी र सरु गौतमको स्वर रहेको ‘बडा दसैँ आयो‘’ पनि उत्तिकै लोकप्रिय छ । ‘यो दसैँ तिहार‘’ बोलको गीतमा सुमनकुमार श्रेष्ठको शब्द र संगीत छ । लोकपप भाकाको यस गीतमा रोजिन पाण्डेले स्वर भरेका छन् ।

बिछोडिएकाको दसैँ
दसैँका धेरैजसो गीतमा बिदेसिएका नेपालीका पीडा, खुसी र रोदन झल्किएका छन् । कर्णदासको
‘लाहुरेलाई चाडवाड नआएकै जाती‘’ बोलको गीतले बिदेसिनुको पीडा सम्झाउँछ । यो गीत दसैँमा सर्वाधिक बज्ने गीतमध्ये एक हो ।

गायक भरत सिटौलाले भर्खरै मात्र ‘आउने सालैमा‘’ बोलको गीत सार्वजनिक गरेका छन् । यस गीतमार्फत उनले परदेसिएका नेपालीले समाज र परिवारसँग टाढिँदा अनुभव गर्ने रिक्तताको भाव पोख्न खोजेका छन् । ‘यो दसैँमा म घर आइनँ‘’ बोलको लोकगीतले पनि यस्तै पीडा बोल्छ ।

गायक स्वर्गीय कुल पोखरेलको रचना तथा संगीत रहेको ‘यसपालि दसैँमा‘’ बोलको गीतले आफन्तको प्रतीक्षामा रहेको परिवारको मर्म बोल्छ । झिल्के बादलले यही गीतलाई रिमेक गरेका छन् । रिमेक भर्सन पनि उत्तिकै चर्चित छ । नितेशजङ कुँवरको ‘दसैँ–तिहार‘’ बोलको गीत युवापुस्तामाझ लोकप्रिय छ । पप भाकाको यस गीतमा नितेशकै शब्द तथा संगीत छ ।

दसैँ र संघर्ष
‘दसैँ नै हो कि यो मेरो दशा‘’ बोलको गीत कम्ती मार्मिक छैन । यस गीतले दसैँमा गर्जो टार्न संघर्षरत परिवारको कथा बोल्छ । योगेश्वर अमात्यले स्वर भरेको यो गीत पनि लामो समयदेखि चर्चित छ । ‘के दसैँ के तिहार गरिबको झुप्रो घरैमा‘’ बोलको लोकगीतले दसैँमा दुखित बनेको गरिब परिवारको व्यथा बोल्छ । दुनियाँलाई दसैँ लागिसक्दा पनि आफ्नो घरमा बालबच्चा भोको हुनुको पीडा कस्तो होला रु यही विषयमा यो गीत केन्द्रित छ ।

फौजीको दसैँ दर्साउने गीत
‘फौजीलाई कुन हो दसैँ‘’ सशस्त्र प्रहरी बलले तयार गरेको गीत हो । दीपक कोइरालाको रचनाको यस गीतमा जगदीश समालले स्वर दिएका छन् । गीतमा सुरेश गैरेले संगीत भरेका छन् । रेसु नेपालीले तयार गरेको यो गीतको भिडियो पनि उत्तिकै चर्चित छ । लाहुरे फिल्मको चर्चित गीत ‘बस है आमा‘’ फौजीहरूको भावना बोल्ने अर्को गीत हो । यस गीतमा दसैँ र तिहारमा भेट्न आउने वाचा गरेर लडाइँमा हिँडेको लाहुरेको कथा समेटिएको छ ।

संगीतकार राजु सिंह दसैँ, तिहारजस्ता सांस्कृतिक महत्वका चाडवाडमा सार्वजनिक हुने गीतमा राज्यले लगानी गर्नुपर्ने बताउँछन् । ‘यस्ता गीत सधैँ चल्ने होइनन् । त्यसैले व्यावसायिक रूपमा सर्जकलाई ठूलो रिस्क हुन्छ । संस्कृतिसँग सम्बन्धित गीतको प्रवद्र्धनका लागि राज्यले लगानी गर्नु आवश्यक छ । त्यसो हुन सक्यो भने हाम्रो कला र संस्कृतिको पनि संवद्र्धन र प्रवद्र्धन हुन्छ,’ उनले भने । नयाँ पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *