
नियमित योग अभ्यास गर्दा स्वस्थ रहन सकिने योग गुरु तथा चिकित्सकको भनाइ छ । कतिपयले योगलाई निरन्तरता नदिएकाले अस्वस्थ हुने गरेको योग गुरुहरूले भन्ने गरेका छन् । योगलाई नियमितता दिन सके कुनै रोगले छुन नसक्ने उनीहरूको विश्वास छ ।
मंगलबार राजधानीमा स्वास्थ्य मन्त्रालयको आयोजनामा सामुहिक योग अभ्यास गरिएको छ । ‘राज्यको सबै तहमा स्वास्थ्यको पूर्वाधार, गुणस्तरीय र जनमुखी स्वास्थ्य सेवा, समृद्धि एवं दिगो विकासको आधार’ भन्ने नाराका साथ मन्त्रालयले छैटौं स्वास्थ्य सेवा दिवसका अवसरका सामुहिक योग अभ्यास गरिएको हो ।
छैटौं स्वास्थ्य सेवा दिवसको अवसर पारेर आम नागरिकहरूले योग अभ्यास गरेका हुन् । योगको केही ‘स्टेप’ मात्रै जान्न सके पनि घरैमा बसेर नियमित योग अभ्यास गर्न सकिने भएकाले आफूहरू मंगलबार सामुहिक योग अभ्यासको कार्यक्रममा सहभागी भएको स्वास्थ्यकर्मी तथा अन्य सहभागीले बताए ।
योग अभ्यासको कार्यक्रम मंगलबार बिहान ७ देखि ८ बजेसम्म चलेको थियो । योग अभ्यास हरेक व्यक्तिले नियमितरूपमा गर्न सके प्राणघातक रोगसमेत निर्मूल पार्न सकिने जनाइएको छ । स्वस्थ रहन चिकित्सकले दिएको मेडिकलको औषधिले मात्रै नभएर योग र शारीरिक व्यायामसमेत आवश्यकता रहेको चिकित्सकले बताए ।
नियमित योग अभ्यासले धेरै मानिसमा रोग न्यून भएकाले योग अभ्यासलाई सबैले निरन्तरता दिन जरुरी रहेको चिकित्सकहरूको सुझाव छ । योग अभ्यासलाई निरन्तरता दिने र नदिनेका बीच धेरै फरक पाइएको नियमित योग अभ्यास गर्नेको स्वास्थ्य राम्रो दखिएको उनीहरूको भनाइ छ ।
Leave a Reply